नक्कली पर्वतारोही बनी प्रमाणपत्र लिने भारतीय जोडीलाई १० वर्षे प्रतिबन्ध
काठमाडौँ, १५ भदौ, नक्कली तस्बिर पेस गरी सगरमाथा आरोहण गरेको दाबी प्रमाणित भएपछि नेपाल सरकारले भारतीय जोडी दिनेश राथोड र ताराकेश्वरी राथोडलाई १० वर्षे प्रतिबन्ध लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सोमबार दिनेश र ताराकेश्वरीलाई नेपालभित्र पर्वतारोहणसंग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । प्रतिवन्धसँगै उनीहरुले यसअघि नेपाल सरकार, पर्यटन विभागबाट पाएको आरोहणको प्रमाणपत्रसमेत रद्द भएको छ ।
छानबिन समितिले गर्यो प्रमाणित
महाराष्ट्र प्रहरीमा अधिकृतका रुपमा कार्यरत यो जोडीले सगरमाथा आरोहण गर्ने पहिलो भारतीय दम्पत्ति भएको दाबी गरेको थियो । मकालु एडभेन्चर प्रालिबाट आरोहणका लागि २ जना शेर्पा सहयोगीका साथ गएको टोलीले २३ मे अर्थात् १० जेठमा सगरमाथा शिखरको सफल आरोहणको दाबी प्रस्तुत गरेको थियो । राथोड जोडीको दाबी संचारमाध्यममा आएपछि भारतकै अन्य आरोहीले उनीहरुको आरोहणका सम्बन्धमा प्रश्न उठाउँदै नक्कली तस्वीर पेश भएको जिकिर गरेका थिए । त्यसपछि मन्त्रालयले राथोड जोडीको तथ्य पत्ता लगाउन उपसचिव टिकाराम पाण्डेको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । समितिमा पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा र फोटो पत्रकार रामकृष्ण महर्जन सदस्य थिए । समितिले राथोड दम्पत्तिबाट नक्कली तस्वीर पेश भएको प्रमाणित गरेपछि उनीहरुमाथि प्रतिवन्ध लागेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।
विभागले कसरी दियो प्रमाणपत्र ?
पर्यटन विभागले राथोड दम्पत्तिलाई सगरमाथामा सफल आरोहण गरेको प्रमाणपत्र दिएको थियो । यस समूहमा राथोड दम्पत्ति र दुई जना शेर्पा सहयोगी मात्र थिए । मन्त्रालयले यस समूहका लागि एकजना सम्पर्क अधिकृत समेत खटाएको थियो । पर्यटन विभागअन्तर्गत पर्वतारोहण शाखाका कर्मचारी ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस प्रकारको मिलेमतोमा शेर्पा सहयोगीको ठूलो हात रहने गर्छ । ‘सम्पर्क अधिकृत आधार शिविरमा बसेको हुन्छ,’ उनले भने, ‘आरोहीलाई लैजाने जिम्मा पाएको शेर्पा सहयोगीको विश्वास र तस्वीरको प्रमाणका आधारमा पर्वतारोहीलाई विभागले प्रमाणपत्र प्रदान गर्छ ।’
उजुरी नआउँदा नक्कली आरोहीको खोजी हुँदैन
आरोहीहरुका अनुसार शेर्पा सहयोगी र सम्पर्क अधिकृतलाई रकम खुवाएर मिलेमतोमा आरोहणको प्रमाणपत्र लिने आरोही धेरै हुन्छन् । तर, नेपालमा नक्कली तस्वीर प्रमाणित गर्ने उच्च प्रविधिको अभाव र उजुरी नआएपछि यस प्रकारका गतिविधिको छानविन हुँदैन । नक्कली आरोहण निरुत्साही गर्न शेर्पा सहयोगीको भूमिका महत्वपूर्ण हुने श्रेष्ठले बताए ।
यसअघि एक मात्र उदाहरण
विभागका अनुसार सन् २००१/०२ मा पनि एक जना बेलायती नागरिकलाई नक्कली तस्वीर प्रयोग गरी आरोहणको दाबी गरेको अभियोगमा तीन वर्षको प्रतिवन्ध लगाइएको थियो । तर, प्रमाणपत्र खारेज भएको इतिहास भने पहिलो हो । भारतीय जोडीमाथिको प्रतिवन्धले नेपालमा गैरकानूनी गतिविधि गर्नेमाथि कारवाही हुन्छ भन्ने सन्देश प्रवाह भएको प्रवक्ता उपाध्यायको भनाइ छ ।
दुई शेर्पा फरार, कर्मचारीलाई चेतावनी
भारतीय जोडीमाथि छानविन शुरु भएपछि उनीहरुको सहयोगीका रुपमा खटिएका शेर्पा फुर्तेम्बा शेर्पा र फुर्वा शेर्पा फरार भएको मन्त्रालयको भनाई छ । ‘उनीहरुको खोजी र अनुसन्धान जारी छ’, मन्त्रालयका सहसचिव उपाध्यायले भने, ‘सम्पर्क अधिकृतका रुपमा खटिएका कर्मचारी र प्रमाणपत्र दिने अधिकारीलाई चेतावनी दिइएको छ ।’ (यो समाचार आजको नयाँ पत्रिकाबाट साभार गरिएको हो)
0 comments
Write Down Your Responses