जाजरकोट, २५ साउन - जाजरकोट लहँ-४, पिपलचौरमा रहेको जनता प्राथमिक विद्यालय विद्यार्थी खुला आकाशमुनि पढाई गर्न बाध्य छन्।
गएको असार दोस्रो हप्ता आएको बाढी पहिरोले विद्यालय भवन बगाउँदा विद्यार्थी खुला आकाशमा पढाई गर्न बाध्य भएका हुन्। बाढीले विद्यालयका दुई वटा भवन, चर्पी खानेपानी टंकी बगाएको प्रधानाध्यापक बलबहादुर रावलले बताए। बाढीले विद्यालय क्षेत्र बगरमा परिणत भएको छ। यही बगरमा विद्यार्थीलाई राखेर पढाउन वाध्य छौं, प्रधानाध्यापक रावलले भने, पानी परे पठनपाठन बन्द गर्नुको विकल्प छैन। चर्को घाम लागे पनि पढाई बन्द गर्नुपर्ने बध्यता छ। फेरि बाढी पहिरो आउलाकी भन्ने डर छ। पठनपाठन संचालन गर्नका लागि अन्यत्र ठाउँ पनि छैन।
विद्यालयमा न चर्पी छ, न त खानेपानीको व्यवस्था छ, उनले भने, विद्यालयमा बस्ने ठाउ नहुँदा विद्यार्थी विद्यालय आउन छाडेका छन्। पहिरोको जोखिम भएकोेले बालबालिकालाई विद्यालय पठाउन छाडेको अभिमावक तिलबहादुर रावलले बताए। विद्यालय भवन नहुँदा पिपलचौरका विद्यार्थी पठनपाठनबाट बञ्चित भएका छन्। ५ कक्षासम्मको पढाई संचालन हुने विद्यालयका बालबालिका बगरको चिसो बालुवा र माटोमा बसेर पढाई गर्दा बिरामी पर्ने गरेको प्रधानाध्यापक रावलले बताए।
पर्वत, साउन । पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका बसमा गएराति आगलागी भएको छ ।
बसपार्कमा पार्किङ गरी राखेको ग १ ख ४९३६ नम्बरको बसमा अचानक आगलागी हुँदा उक्त बस पूर्णरुपमा क्षति भएको छ । आगलागी हुँदा नजिकै पार्किङ गरी राखेको ना ४ ख ९०३७ नम्बरको र ध १ ख ५६९ नम्बरको बसमा समेत लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
उक्त आगलागी जिल्ला प्रहरी कार्यालयबाट ३० जनाको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
उक्त आगलागी बसपार्कमा डुल्ने बेवारिसे बालबालिकाले लगाएको भन्ने अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । बालबालिका फरार रहेको हुँदा खोजतलास कार्य भइरहेको जनाइएको छ ।
ताप्लेजुङ / । लिङ्खिम गाविसस्थित विजय निमाविमा अध्ययनरत एक छात्रा स्कुल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् ।
लिङ्खिम– ३ ओमबहादुर लिम्बूकी १४ वर्षीया छोरी अनिता आज बिहान स्कुल जाने क्रममा सोही गाविसमा पर्ने तावा खोला तर्दै गर्दा खोलामा डुबेर बगेको विद्यालयका प्रअ गायत्री पौडेलले बताउनुभयो ।
बिहान करिब ९.५० बजे केही साथीसँगै स्कुल जाँदै गर्दा पुल नभएको खोलाभित्रैबाट तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।
सोही खोलामा काठको फड्के भए पनि स्कुल जान हतार भएकाले सोही पुल भएदेखि केही माथिको भागबाट छोटो बाटो हुँदै तर्ने क्रममा उनी बगेकी हुन् । केही साथी तरेर अघि बढ्दै गर्दा पछाडिरहेकी लिम्बूलाई खोलाले बगाएको उनका साथीले बताएका छन् ।
सो खोलामा भएको एउटा फड्के पुलसमेत निकै जीर्ण भएकाले त्यहाँबाट खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । लगत्तै स्थानीय र शिक्षक मिलेर खोजी भइरहेको र प्रहरीलाई खबर गरिएको बताइएको छ । उनी विजय निमाविमा कक्षा ८ मा अध्ययनरत थिइन् । रासस