सुरू भयो पोखरा–दिल्ली सिधा बस सेवा
पोखरा–दिल्ली बस सेवा सोमबार पोखरामा शुभारम्भ गरिँदै । तस्बिर : भीम घिमिरे/कान्तिपुर
असार २७, २०७३- भारतको नयाँ दिल्ली र नेपालको पर्यटकीयनगरी पोखराकाबीच सिधा बस सेवाको सोमबारदेखि औपचारिकरूपमा शुभारम्भ भएको छ ।
पोखरामा आयोजित एक समारोहबीच गृहमन्त्री शक्ति बस्नेत र नेपालका लागि भारतीय राजदुत रञ्जित रेले परेवा उडाउँदै र झण्डा देखाएर ना६ख १२८७ नम्बरको बसलाई बिदाइ गरे । सोझो यात्रा शुभारम्भको पहिलो ट्रिपमा पोखराबाट दिल्ली जाने १५ यात्रु छन् ।
यात्रा शुभारम्भका अवसरमा राजदुत रेले पर्यटकीय नगरी पोखरासँग भारतको राजधानीबाट सोझै बस यात्रा गर्न पाउनु नेपाल आउन चाहने भारतीय पर्यटकका लागि लाभकारी भएको बताए । ‘धेरै भारतीय पोखरा आउन चाहन्छन्,’ उनले भने, ‘मुक्तिनाथ र अन्नपूर्णको यात्राका लागि आउनैपर्ने यो नगर पर्यटकीय राजधानी बन्दै गएको छ ।’
हालै पोखरामा सार्कको मन्त्रीस्तरीय बैठक भएको थियो । त्यसमा सहभागी हुन आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पोखरा मन पराएको उनले बताए । ‘मलाई विदेशमन्त्री स्वराजले पोखरा धेरै राम्रो लागेको बताउनुभएको थियो,’ उनले भने, ‘भर्खरै काठमाडौंमा भएको प्रबुद्ध समुहको बैठकमा पनि पोखराको चर्चा भएको थियो । पोखराको पर्यटकीय सम्भावनाहरू धेरै छ ।’ पोखराले पर्यटन व्यवसायबाट लाभ लिनका लागि पूर्वाधारको विकास भए अझ राम्रो हुने उनले बताए ।
‘यसका लागि सिद्धार्थ राजमार्गको बिस्तार जरुरी भएको मलाई यहाँका पर्यटन व्यवसायीले बताउनुभएको छ,’ उनले भने, ‘भारतले सहयोग गरिरहेका परियोजना नेपाल सरकारले प्रस्ताव गरेका आधारमै तय हुने भएकाले सडकका लागि पनि प्रस्ताव आए सहयोगको प्रक्रिया अगाडि बढाउन सकिन्छ ।’
क्षेत्रीय तहमा नेपाल–भारतबीच अर्को उपक्षेत्रीय सहकार्यका समझदारी बनेको बताएका उनले भने ‘उप–क्षेत्रीय समझदारी भारत, बंगलादेश र नेपालबीचको बेग्लै छ । त्यसबाट नेपालले लाभ लिनसक्ने बाटो अझ फराकिलो बनाउन सकिन्छ ।’ सरकारहरूबीच हुने समझदारीको निजी क्षेत्रले फाइदा लिनसक्नुपर्ने उनले बताए ।
कार्यक्रममा गृहमन्त्री बस्नेतले नेपाल–भारत दुवैले जनताको हितका लागि विकासका कार्यक्रममा जोड दिएको बताए । सोझो यातायात सेवाको फाइदा एकअर्का मुलुकमा आउजाउ गर्ने सर्वसाधारणलाई हुने भएकाले निर्वाध सञ्चालनका लागि सहयोग गरिने भनाइ उनको थियो ।
सोमबार नै भारतको नयाँ दिल्लीबाट पनि पोखराका लागि एउटा बस छुटेको छ । भारतका तर्फबाट उत्तरप्रदेश परिवहन निगम गाजियावाद डिपोले चार र नेपालमा निजी क्षेत्रको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रालिले चारवटा बस दिल्ली–पोखरा रुटमा चलाउने सम्झौता छ । ४० सिटे एसी डिकलक्स बसमा यात्रा गर्दा प्रतियात्रु ३५ सय २० रूपैयाँ वा भारु २२ सय टिकट दर छ । पोखराबाट स्याङ्जा–बुटवल हुँदै सुनौली, गोरखपुर र लखनउ भएर बस दिल्ली पुग्ने करीब १३ सय ५० किमीको दूरि बसले २४ घण्टामा पुरा गर्नेछ ।
0 comments
Write Down Your Responses