कतारमा मुदिर भागेपछि १ सय ३० नेपाली अलपत्र, उद्धारको अपिल
दोहा, असार २२- रोल्पाको उद् गाविस—६ का ३० वर्षीय पहलमान पुन मगर अघिल्लो साँझ साइड (काम गर्ने स्थल) बाट क्याम्पसम्म ट्याक्सी चढेर आए । डिउटी सकेर दुई घण्टासम्म घाममा तड्पिएर बस्दा पनि बस लिन आइपुगेन ।पहलमानलाई बस किन लिन आएन भन्ने जानकारी पनि आएन । उनले ठाने,‘कतै केही भएर बिग्रियो होला ।’ भोलीपल्ट २१ जुनको बिहान सबेरै उनीसहित कामदारहरु काममा निस्कन सधै झैं क्याम्पको बाहिर आएर तयारी अबस्थामा बसेका मात्रै थिए, बस डाइभर आइपुगेर भने, ‘कम्पनीको जिम्मेवारी लिने कोही छैन, मुदिर (म्यानेजर), इन्जिनियर कोही सपर्म्कमा छैनन् । अफिस खाली छ । अब के काममा जान्छौ ?’हिजोसम्म ६ वटा प्रोजेक्टमा काम गरिरहेका ती कामदारहरु ड्राइभरका कुरा सुनेर चिन्तित भए । सबै कोठामै फर्किए । दिउँसो पहलमानसहित केही नेपाली कामदार कम्पनीको कार्यालयमा पुग्दा रित्तो देखे । ‘कार्यालयमा कोही छैन’ पहलमानले भने, ‘त्यस दिनदेखि हाम्रो जिम्मेवारी लिने सबै बेपत्ता छन् । हामी अलपत्र छौं ।’कार्यालय नै खाली गरेर सञ्चालक भागेपछि अल साहाबा गुप्र कम्पनीका एक सय ३० जना नेपाली कामदार अलपत्र परेका हुन् । ‘पहिला यही कम्पनीमा तीन सय भन्दा बढी थिए । एकसय २४ जना कामदारलाई यो तीन महिनामा फर्काइ सके’ उनले भने, ‘हामीलाई भने त्यतिकै अलपत्र पारेर मुदिर फरार भए ।’ती कामदार अल साहाबा बिल्डिङ कन्ट्रक्सन, असस इन्जिनियरीङ, इन्साइट एड्भान्सड कन्ट्रक्सन, प्याराडाइज ट्रेडिङ एण्ड सप्लाईसमा कार्यरत थिए । यो कम्पनी एउटै ब्यवस्थापन समुहद्धारा सञ्चालित हो । कम्पनी सञ्चालक मिश्रका व्यक्ति हुन् । मुदिर भागेर उसको देश गएको उनीहरुलाई जानकारी प्राप्त भएको छ ।उनीहरुले दुई महिनाको तबल, उपदान र बिदाको रकम पाउन बाँकी छ । पीडितले २३ जुनमा नेपाली दुताबासमा पुगेर आफुहरुलाई सहयोग गर्न निबेदन दिए । ‘दुताबासबाट केही सहयोग मिल्छ कि भनेर समस्या गएर सुनाएका थियौं’, डाँगीबारी—६, झापाका ४६ बर्षिय कृष्णबहादुर तामाङले भने,‘ दुताबासले कतारको श्रम कार्यालयमा जान एउटा पत्र बनाइदिएको थियो । त्यो पत्र लिएर श्रममा पुग्दा भएन । हामीलाई नयाँ निबेदन बनाउन लगायो । बाहिर टाइपिङ सेन्टरमा गएर श्रमको लागि निबेदन बनायौं । त्यो निबेदन बनाउन हाम्रो ५ सय ५० रियाल (झन्डै १६ हजार रुपैयाँ) खर्च भयो । सबै मिलेर त्यो पैसा जुटायौं ।’त्यसपछि उनीहरु दुताबास गएका छैनन् । उनीहरुले खानाको लागि चिनजानका साथीहरुसँग सापटी लिन थालेका छन् । ‘हामी सबैले बंगालीको पसलबाट उधारोमा सामान लिन्थ्यौं । महिना मरेपछि उसलाई पैसा दिन्थ्यौं । अहिले कम्पनी बन्द भएपछि उसले सामान उधारोमा दिंदैन’, दिक्तेल, खोटाङका ४६ बर्षिय बिचारी राईले भने, ‘पैसा दिनै बाँकी छ । बंगाली आएर भएको एउटा थोत्रो मोबाइल पनि खोसेर लैजान्छ की भन्ने पनि डर छ ।’पीडित नेपाली कामदार जतिसक्दो छिटो स्वदेश फिर्न चाहन्छन् । ‘यहाँ बसेर फाइदा छैन् । जति दिन लम्बियो । त्यति दिन कठिनाइ बढ्छ । हामीसँग टिकट काट्ने पनि पैसा साथमा छैन । घर फिर्न एक्जिट पत्र चाहिन्छ । अब त्यो कसरी मिल्छ भन्नेमा हामीलाई मानसिक तनाव भइरहेको छ’, उर्लाबारी—१, मोरङका ४२ बर्षिय गोपीलाल कार्कीले भने,‘यहाँबाट पैसा पठाए पछि नेपालमा परिवारको चुलो बल्ने हो । मुद्दा मामिलामा बसेर हुन्न ।’नेपाली दुताबासले पीडितहरु पछिल्लो समयमा सपर्म्कमा नआएकोले जनाएको छ । ‘हामीले श्रममा जान भनेका थिए । त्यसपछि हामीलाई भन्न आएको छैन’, दुताबासका एक अधिकारीले भने,‘कामदारलाई उद्धार गरेर पठाउन हामी आबश्यक कारबाही अगाडि बढाउँछौं ।’कान्तिपुरबाट
0 comments
Write Down Your Responses